|  

फ्रान्समा महँगी र शिक्षा प्रणालीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० भन्दा बढी पक्राउ

१ कात्तिक, काठमाडौं । फ्रान्समा शिक्षा प्रणालीको अवस्था सुधार र बढ्दो महँगीविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ ।

प्रदर्शनमा सहभागी हुनेको संख्या करिब ५ लाख ५० हजार रहेको अनुमान गरिएको छ भने प्रहरीले कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन् । प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । पेरिसमा प्रदर्शनका क्रममा सवारीसाधन र भवनमा आगजनी गरिएको थियो भने पसल तथा व्यवसायमा तोडफोड र लुटपाट भएको थियो । त्यस्तै, लिमोज सहरको नगरपालिकाको भवनमा लागेको आगोका कारण छानाको केही भाग भत्किएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

फ्रान्सका माध्यमिक विद्यालयहरूमा शिक्षक तथा कर्मचारीको अभाव र जीर्ण भौतिक संरचनाको विरोधमा पछिल्ला सातादेखि विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् । शनिबारको प्रदर्शनमा ट्रेड युनियन तथा बढ्दो जीवनयापन खर्चविरुद्ध आन्दोलन गर्दै आएको ‘येलो भेस्ट’ समूहका सदस्यसमेत सहभागी भएका थिए ।