|  

रोमानियाको एफ–१६ लडाकु विमानले ‘ब्ल्याक सागर’मा खसाल्यो दुई ड्रोन

१ कात्तिक, काठमाडौं ।  रोमानियाको हवाई क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेका दुई ड्रोनलाई त्यहाँको वायुसेनाका एफ–१६ लडाकु विमानले ब्ल्याक सागरमाथि गोली हानेर खसालेका छन् ।

रोमानियाका रक्षामन्त्री रादु मिरुताले फेसबुकमार्फत रोमानियाली सैन्य पाइलटहरूले ब्ल्याक सागरमाथि दुईवटा ड्रोनलाई निसाना बनाएर केही मिनेटभित्रै ध्वस्त पारेको जानकारी दिए । ती ड्रोन कुन देशका थिए भन्नेबारे भने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

रक्षामन्त्रीले पहिलो ड्रोन स्थानीय समयअनुसार साँझ ५ः५९ बजे हवाई क्षेत्रमा प्रवेश गरेको जनाएका छन् । त्यसको दुई मिनेटभित्रै उक्त ड्रोन खसालिएको थियो ।

दोस्रो ड्रोनलाई हवाई क्षेत्रमा प्रवेश गरेको पाँच मिनेटपछि, साँझ ६ः०५ बजे नष्ट गरिएको बताए । यो घटना सुलीना सहरबाट करिब २० किलोमिटर दक्षिणपूर्वमा भएको हो ।