|  

बैतडीमा २४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

१८ बैशाख, काठमाडौँ । नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् । 

सङ्क्रमणको दोश्रो लहर फैलिएपछि यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।  

प्रमुख भट्टका अनुसार सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार, जिल्ला अस्पतालको पिसीआर प्रयोेगशालामा कार्यरत एक, सीमानाकास्थित झुलाघाट हेल्थडेस्कमा कार्यरत एक, गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत एक र बैतडी प्लसमा कार्यरत एक स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ ।  

सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था गम्भीर नरहेको र उनीहरु आइसोलेसनमा रहेका प्रमुख भट्टले बताउनुभयो । 

कोरोना सङ्क्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी सङ्क्रमित हुनथालेपछि समस्या भएको छ । उहाँले भन्नुभयो, “कोभिडको क्षेत्रमा प्रत्यक्षरुपमा काम गरिरहेका स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि स्वास्थ्य सेवा नै प्रभावित भएको छ, सङ्क्रमण देखिएका स्वास्थ्य संस्थामा आसपासका स्वास्थ्यकर्मीले आलोपालो मिलाएर काम गरिरहेका छन् ।”