|  

महाअष्टमीमा उग्रतारा मन्दिरमा भक्तजनको घुइँचो, बलिसहित विशेष पूजाआजा

०१ कात्तिक,काठमाडाैं । महाअष्टमीका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर उत्तरमा रहेको मन्दिरमा दर्शन र पूजाआजाका लागि सुदूरपश्चिमका नौवटै जिल्लासहित विभिन्न क्षेत्रबाट श्रद्धालु पुगेका छन्। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार महाअष्टमीमा राँगा र बोकाको बलि चढाएर विशेष पूजा गर्ने परम्परा छ। करिब दुई हजार पाँच सय वर्ष पुरानो धार्मिक किंवदन्तीसँग जोडिएको यस मन्दिरमा उग्रतारा भगवतीलाई महागौरी दुर्गा र कालीको स्वरूपमा पुजिन्छ। यहाँ कात्तिक शुक्ल पूर्णिमामा पनि ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको ‘देइजात’ मेला लाग्ने गर्छ।