|  

तिथि वृद्धिका कारण यस वर्ष दुई दिन महाअष्टमी, आज पनि अष्टमीकै विधिअनुसार पूजा गर्न सुझाव

०२ कात्तिक, काठमाडौं । यस वर्ष नवरात्रमा तिथि वृद्धि भएपछि महाअष्टमीको पूजा र धार्मिक कर्म लगातार दुई दिन गर्नुपर्ने भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएकाले आज सोमबार पनि अष्टमीकै विधिअनुसार पूजा गर्न सुझाव दिइएको हो। समितिका पूर्वसदस्य तथा वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म कात्तिक २ गते पनि दशैँघर वा पूजाकोठामा दोहोर्‍याउनुपर्छ। नवरात्रको नवौँ दिन परे पनि तिथि वृद्धिका कारण सोमबार महाअष्टमीकै धार्मिक विधि पालना गर्नुपर्ने भट्टराईले बताए। उनका अनुसार नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा, आराधनासहित अष्टमीमा गरिने अन्य कर्मसमेत दोहोर्‍याउनुपर्छ। यद्यपि, आश्विन शुक्ल अष्टमीको रातमा गरिने कालरात्रि पूजा भने समितिले स्वीकृति दिएको पात्रोअनुसार कात्तिक १ गतेकै रात गर्नुपर्ने उल्लेख छ। विजयादशमीका दिन टीका लगाउँदा भने १० रात्रि पूजामा चढाइएका जमरा प्रयोग गरिनेछन्। धर्मशास्त्रविद्हरूले देवीको साधना र पूजाका लागि एक दिन थपिँदैमा धार्मिक दृष्टिले फरक नपर्ने बताएका छन्।

हनुमानढोकामा सोमबार राति विशेष कालरात्रि पूजा

हनुमानढोका दरबारमा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने सोमबार राति गरिने भएको छ। दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार पञ्चाङ्ग निर्णायक समितिसँगको परामर्श र तलेजुका पुजारीको परम्पराअनुसार कात्तिक २ गते राति विशेष पूजा गर्ने निर्णय गरिएको हो। हनुमानढोकामा महाअष्टमीको कर्म सम्पन्न गरेपछि अर्को दिन महानवमीको पूजा तथा आराधना गर्ने परम्परा रहेकाले मूल पूजा सोमबारका लागि तय गरिएको प्रधानले बताइन्।

दरबारको दशैँघरमा आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको थियो। तर मुख्य पूजासँगै महाअष्टमीको रात गरिने विशेष अनुष्ठान सोमबार राति हुनेछ। हनुमानढोका दरबारमा महाअष्टमीका अवसरमा १०८ पशुको बलिसहित पूजा तथा आराधना गर्ने परम्परा रहँदै आएको छ।