|  

आरुबारीमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु, चालक गम्भीर घाइते

०२ कात्तिक,काठमाडौं । गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित राममन्दिर नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

आइतबार राति सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। रौतहट घर भई हाल काठमाडौंमा बस्दै आएका १८ वर्षीय मोहन ठाकुरले बा ९० प ३३२५ नम्बरको मोटरसाइकल चलाइरहेका थिए। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भई काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते जसिमलाई नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मोटरसाइकल चालक ठाकुर पनि दुर्घटनामा गम्भीर घाइते भएका छन्। नेपाल मेडिकल कलेजमा उपचाररत उनलाई थप उपचारका लागि कात्तिक २ गते दिउँसो १:४५ बजे त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको जनाइएको छ। दुर्घटनाको थप विवरण भने खुलाइएको छैन।