|  

आरुघाट पुलमा बेलिब्रिज तयार, गोरखा-धादिङ सडकमा यातायात खुल्ने

०२ कात्तिक, काठमाडौं । बाढीले पुलको केही भाग बगाएपछि अवरुद्ध बनेको गोरखा-धादिङ जोड्ने आरुघाट सडकखण्डमा यातायात सञ्चालनको बाटो खुलेको छ। बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त पुलमा सोमबार बेलिब्रिज जडानको काम सम्पन्न भएको हो।

बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त मार्गमा सवारी आवागमन बन्द भएको थियो। सडकलाई तत्काल सञ्चालनमा ल्याउन नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण गरिएको हो। निर्माण सम्पन्न भएसँगै सोमबारदेखि दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न दिने तयारी गरिएको छ।

त्यस्तै, मंगलबारदेखि चारपाङ्ग्रे सवारीसाधनलाई पनि आवागमनको अनुमति दिने जनाइएको छ। बेलिब्रिज निर्माणपछि लामो समयदेखि अवरुद्ध सडकमा यात्रा गर्ने सर्वसाधारणलाई राहत पुग्ने अपेक्षा गरिएको छ।