|  

वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

०३ कात्तिक, काठमाडौं । वर्षमा एक दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ।

महानवमीको अवसरमा मंगलबार बिहान ५ बजेदेखि मन्दिर खुला गरिए पनि दर्शनार्थीहरू त्यसअघि नै लामबद्ध भएका थिए।हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार भक्तजनका लागि बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म पूजा तथा दर्शनको व्यवस्था मिलाइएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा अवस्थित यो ऐतिहासिक मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्रै सर्वसाधारणका लागि खुला गरिन्छ। कोरोना महामारीका कारण २०७७ सालमा भने मन्दिर दर्शनका लागि खुला गरिएको थिएन। महानवमीका दिन यहाँ हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन्।

यस वर्ष नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको साइतअनुसार गत असोज ३१ गते शनिबार बिहान ७:३७ बजे तुलजा भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा यात्रा गराइएको थियो। सोही दिन बिहान १०:३९ बजे देवीलाई स्थिरासनमा राखिएको थियो। महानवमीको अवसरमा आज राति मूलचोकमै कालरात्रि पूजा गरिने कार्यक्रम छ। हेरचाह अड्डाका अनुसार उक्त पूजामा ५४ बोका र ५४ राँगाको बलिसहित देवीको आराधना गरिनेछ। विजयादशमीसम्म मूलचोकमै राखेर तलेजु भवानीको पूजा–आराधना गरिनेछ। कात्तिक ४ गते बुधबार बिहान १०:५१ बजेको साइतमा देवीलाई यात्रा गराइने र बिहान ११:५२ बजे मूल मन्दिरमा स्थिरासन गराइने कार्यक्रम रहेको छ।

वर्षमा एकपटक मात्रै दर्शन गर्न पाइने धार्मिक मान्यताका कारण तलेजु भवानी मन्दिरमा महानवमीका दिन भक्तजनको विशेष चहलपहल हुने गरेको छ।