०३ कात्तिक, काठमाडौं । बडादसैँको नवौँ दिन अर्थात् महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विधिपूर्वक पूजा–आराधना गरी मनाइँदैछ।
आश्विन शुक्ल नवमीका दिन मनाइने यस पर्वमा देवी मन्दिर, शक्तिपीठ, दसैँघर तथा कोतहरूमा बिहानैदेखि धार्मिक अनुष्ठान र विशेष पूजाहरू भइरहेका छन्। नवरात्रको अन्तिम दिन आज नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको पूजा गरिन्छ। घटस्थापनाका दिन दसैँघर तथा पूजा कोठामा राखिएको जमरा देवीलाई अर्पण गर्न विभिन्न शक्तिपीठमा लगिने परम्परा छ। यस अवसरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्दै महाकाली, महालक्ष्मी तथा महासरस्वतीको समेत आराधना गरिन्छ। महानवमीमा पशुबलि दिने परम्परा पनि विशेष रूपमा प्रचलित छ। विभिन्न शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको बलि दिइन्छ। शाकाहारी तथा पशुबलि नदिने भक्तजनले भने कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवल चढाएर प्रतीकात्मक बलि दिने गर्छन्। देवीलाई पायससमेत अर्पण गर्ने चलन छ। कतिपय स्थानमा महाअष्टमीमा बलि दिने र महानवमीमा मार हान्ने परम्परा रहिआएको छ।
धार्मिक ग्रन्थ मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज नामक राक्षसको वध गरेकी थिइन्। यही पौराणिक प्रसङ्गका कारण महानवमीलाई शक्तिको उपासना र दुष्टमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा लिने गरिन्छ। पर्वका अवसरमा दुर्गाको प्रतीक मानेर कन्याको पूजा गर्ने र दक्षिणा दिने परम्परा पनि छ। यसैगरी विभिन्न कोतमा हर्षबढाइँसहित कोतपूजा तथा निशानापूजा गरिन्छ। हनुमानढोका दरबार क्षेत्र र नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना र कोतपूजा गर्ने चलन छ। महानवमीका दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको ऐतिहासिक तलेजु भवानी मन्दिर पनि सर्वसाधारणका लागि खुला गरिएको छ। वर्षमा एक दिन मात्रै दर्शन गर्न पाइने यस मन्दिरमा बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म भक्तजनका लागि दर्शनको व्यवस्था मिलाइएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।
महानवमीसँगै दसैँको धार्मिक उल्लास थप चुलिएको छ। देशभरका शक्तिपीठमा दर्शनार्थीको चहलपहल बढेको छ भने घरघरमा नवदुर्गाको पूजा, प्रसाद अर्पण र धार्मिक विधिहरूलाई निरन्तरता दिइँदैछ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar