|  

महँगी र इरान युद्धको दबाबमा ट्रम्प, मध्यावधि चुनावमा रिपब्लिकनको बहुमत गुम्ने जोखिम

०३ कात्तिक, काठमाडौं । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीका लागि चुनौतीपूर्ण बन्ने देखिएको छ।

बढ्दो महँगी, इरानसँगको युद्ध र घट्दो जनसमर्थनका कारण कंग्रेसका दुवै सदनमा रहेको बहुमत जोगाउन पार्टीलाई कठिन हुने आकलन गरिएको छ। विभिन्न जनमत सर्वेक्षणमा ट्रम्पको कार्यसम्पादनप्रतिको समर्थन ३० देखि ३६ प्रतिशतमा सीमित देखिएको छ। एनबीसी न्युज, वासिङ्टन पोस्ट–एबीसी न्युज, फक्स न्युज र प्यू रिसर्च सेन्टरका सर्वेक्षणले उनको लोकप्रियतामा गिरावट आएको देखाएका छन्।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा महँगी नियन्त्रण र दैनिक खर्च घटाउने वाचा गरेका ट्रम्पलाई अहिले मूल्यवृद्धिले अप्ठ्यारोमा पारेको छ। खाद्यान्न, घरभाडा र इन्धनको बढ्दो लागतले अमेरिकी परिवारको बजेटमा दबाब परेको छ। रोयटर्स–इप्सोसको सर्वेक्षणअनुसार ७८ प्रतिशत उत्तरदाताले आफ्नो आम्दानीभन्दा उपभोग्य वस्तुको मूल्य तीव्र गतिमा बढिरहेको बताएका छन्। एपीको रिपोर्टमा ६५ प्रतिशत अमेरिकीले महँगीका लागि ट्रम्पका नीतिलाई जिम्मेवार ठहर्‍याएको उल्लेख छ।

इरान युद्धले थप्यो राजनीतिक दबाब

इरानसँगको युद्धले इन्धनको मूल्य र विदेश नीतिप्रतिको असन्तुष्टिलाई थप चर्काएको छ। एनबीसी न्युजको सर्वेक्षणमा २९ प्रतिशतले मात्रै इरान युद्ध व्यवस्थापन गर्ने ट्रम्पको तरिकालाई समर्थन गरेका छन् भने फक्स न्युजको सर्वेक्षणमा ६४ प्रतिशतले उनको विदेश नीतिप्रति असहमति जनाएका छन्। यद्यपि, रिपब्लिकन समर्थकको ठूलो हिस्सामा ट्रम्पप्रतिको समर्थन कायम रहेकाले पार्टीले आफ्नो परम्परागत मत आधारमा भरोसा गरेको छ।

आफ्नै उम्मेदवारलाई ट्रम्पको साथ भारी

ट्रम्पको घट्दो लोकप्रियताका कारण प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रमा रिपब्लिकन उम्मेदवारहरू पनि दबाबमा छन्। केही उम्मेदवारले मध्यमार्गी मतदाताको समर्थन जुटाउन ट्रम्पका कतिपय नीतिबाट दूरी बनाउने प्रयास गरिरहेका छन्। तर ट्रम्पबाट धेरै टाढिँदा पार्टीका कट्टर समर्थकको साथ गुम्ने जोखिम पनि उनीहरूसामु छ। यही सन्तुलन मिलाउनु रिपब्लिकन उम्मेदवारका लागि कठिन बनेको छ।

बहुमत गुमे ट्रम्पका योजना प्रभावित हुन सक्ने

मध्यावधि निर्वाचनमा राष्ट्रपतिको चयन हुँदैन। यसमा प्रतिनिधिसभा र सिनेटका सिटका लागि मतदान हुन्छ। डेमोक्र्याटिक पार्टीले एक वा दुवै सदनमा बहुमत हासिल गरेमा ट्रम्पका विधेयक तथा बजेटसम्बन्धी प्रस्ताव अघि बढाउन कठिन हुन सक्छ। साथै, उनको प्रशासनमाथि संसदीय निगरानी र छानबिन बढ्न सक्छ। यद्यपि, रिपब्लिकन पार्टीसँग चुनावी अभियानका लागि आर्थिक स्रोत र बलियो समर्थक आधार रहेकाले नतिजा निश्चित भइसकेको छैन। महँगी, विदेश नीति र मतदाताको सहभागिताले नोभेम्बरको निर्वाचनमा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।