|  

कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटना, तीन जनाको मृत्यु

०३ कात्तिक, काठमाडौं । कैलालीका घोडाघोडी, कैलारी र टीकापुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–५ स्थित डोडा पुल नजिक सोमबार राति गोरुगाडा र मोटरसाइकल ठोक्किँदा धनगढीका २९ वर्षीय विक्रम रानाको मृत्यु भएको हो। घाइते रानालाई उपचारका लागि धनगढी पठाइएकोमा राति १०:५० बजे मृत घोषणा गरिएको थियो। त्यस्तै, कैलारी गाउँपालिका–७ को रामपुरस्थित हुलाकी राजमार्गमा राति करिब २:३० बजे मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पछाडि सवार भजनीका २६ वर्षीय शिवलाल चौधरीको मृत्यु भएको छ। घाइते चौधरीलाई थप उपचारका लागि भारत लैजाने क्रममा मृत्यु भएको जनाइएको छ।

यस्तै, टीकापुरमा राति मोटरसाइकलको ठक्करबाट ५३ वर्षीय पैदलयात्री लक्ष्मीराम थारूको मृत्यु भएको छ। १९ वर्षीय आयुष चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थारूलाई टीकापुर अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।