|  

पर्यटकीय याम नसकिँदै पोखरा-जोमसोम नियमित उडान बन्द

०३ कात्तिक,काठमाडौं । पर्यटकीय याम बाँकी रहँदै पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ।

यस रुटमा उडान गर्दै आएका तारा एयर र समिट एयरले यात्रुको चाप घट्नु तथा जहाज मर्मत गर्नुपर्ने कारण देखाउँदै नियमित उडान रोकेका हुन्। जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरले अघिल्लो सातादेखि र समिट एयरले सोमबारदेखि नियमित उडान बन्द गरेका हुन्। सामान्यतया अगस्टदेखि नोभेम्बरसम्म यस रुटमा नियमित उडान सञ्चालन हुँदै आएको थियो। तारा एयरका तीनमध्ये एउटा जहाज मर्मतमा रहेको छ भने समिट एयरले पनि आफ्नो चारमध्ये एउटा जहाज मर्मतका लागि लैजाने तयारी गरेको छ। समिट एयरका जोमसोम स्टेशन इन्चार्ज सुमन थकालीका अनुसार विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएका घटनापछि यात्रुले बुकिङ रद्द गरेकाले नियमित उडान स्थगित गर्नुपरेको हो। तर, चार्टर उडान भने जारी रहने उनले बताए।

तारा एयर र समिट एयरले यस रुटमा वार्षिक एक हजार २०० भन्दा बढी नियमित उडान गर्दै आएका थिए। नियमित सेवा बन्द हुँदा पोखरा–जोमसोम यात्रा गर्ने पर्यटक तथा स्थानीय यात्रु प्रभावित हुने भएका छन्।