|  

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते

०३ कात्तिक, काठमाडौं । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

मंगलबार बिहान करिब १०:३० बजे कैलालीको लम्कीबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता दीपेन्द्र मगराठीका अनुसार गाडीमा २१ जना सवार थिए। दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ। घाइतेहरूलाई पञ्चपुरी आधारभूत अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल, कालागाउँ पठाइएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अछामकी २७ वर्षीया जीवनकला बयक, २५ वर्षीय हेमन्त तिमिल्सिना र कैलालीका २० वर्षीय गोपाल बोगटीको अवस्था मध्यम रहेको छ। अन्य घाइतेमा तीन वर्षीय समिर बादी, ४१ वर्षीय बिर्ख टमटा, २० वर्षीया शारदा टमटा, १५ वर्षीय निरज भण्डारी, ३५ वर्षीय धिराज विक र २० वर्षीया शान्ति भण्डारी रहेका छन्। दुर्घटनामा घाइते सबैको उद्धार गरी उपचारको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।