०४ कात्तिक, काठमाडौं । भक्तपुरको च्यामासिंहस्थित प्रसिद्ध ब्रह्मायणी मन्दिरमा विजयादशमीका अवसरमा लाग्ने परम्परागत ब्रह्मायणी जात्रामा रातिदेखि नै श्रद्धालुको भीड लागेको छ। नवदुर्गाको शक्तिपीठका रूपमा पूजिने यस मन्दिरमा दर्शन तथा पूजाआजा गर्न विभिन्न स्थानबाट भक्तजन आउने क्रम जारी छ।
नवदुर्गा प्रकट हुने धार्मिक विश्वाससँग जोडिएको यस जात्रामा भक्तपुरका विभिन्न क्षेत्रका साथै काभ्रे, ललितपुर र काठमाडौंका श्रद्धालु सहभागी हुने गर्छन्। भक्तजनले मन्दिरमा जमरा, हाँसको अण्डा तथा विभिन्न पशुपक्षीको बलि दिएर पूजा गर्ने परम्परा छ। जात्राको विशेष आकर्षणका रूपमा रहेको खस्मेय अर्थात् राँगो बधसँगै मन्दिर परिसरमा चहलपहल बढ्ने गर्दछ। गठेमंगलका दिनदेखि नवदुर्गा मन्दिरमा पालिएको महिषासुर दैत्यको प्रतीक राँगोलाई महानवमीको राति जाँड खुवाएर मत्ताई, अबिर दलेर दौडाउँदै ब्रह्मायणी मन्दिर पुर्याइन्छ। त्यसपछि राँगो बध गरिएसँगै जात्राको मुख्य गतिविधि सुरु हुन्छ। राँगोलाई लखेट्ने क्रममा दायाँबायाँ सुकुन्दा बालेर दौडिने चलनले जात्रालाई थप विशिष्ट बनाएको छ। स्थानीय मान्यताअनुसार महानवमीको राति नवौँ देवी त्रिपुरासुन्दरी प्रकट भएपछि नवदुर्गा भवानी पूर्ण हुने विश्वास छ। यही धार्मिक मान्यताका आधारमा खस्मेय बधजात्रा मनाउने परम्परा रहँदै आएको स्थानीयवासी बताउँछन्।
यस जात्रामा सहभागी हुने व्रतालुहरूको आस्थापूर्ण अभ्यास पनि उत्तिकै उल्लेखनीय छ। कतिपय व्रतालु घरदेखि मन्दिरसम्म घस्रिँदै वा पल्टिँदै पुग्छन्। उनीहरूले शरीरमा पाँच, सात वा १८ वटा दियो बालेर पूजा गर्ने गर्छन्। यसरी पूजा गर्दा मनोकामना पूरा हुने र पाप नष्ट हुने जनविश्वास छ। राँगो बधपछि त्यसको मासुलाई प्रसादका रूपमा घर लैजाने परम्परासमेत छ। मासु सुकुटी बनाएर धूलो पारी घ्यूमा मुछेर धूप बनाउने र लक्ष्मीपूजाका दिन बाल्ने चलन रहेको छ। यस्तो धूप बाल्दा भूतप्रेतबाट रक्षा हुने, शत्रुनाश हुने र घरमा लक्ष्मीको बास हुने धार्मिक विश्वास छ। धार्मिक आस्था, तान्त्रिक परम्परा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक अभ्यासको संगमका रूपमा रहेको ब्रह्मायणी जात्रा भक्तपुरको मौलिक सम्पदा र जीवन्त परम्पराको प्रतीक मानिन्छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar