|  

भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान

०४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्दै नागरिकलाई सरकार आफ्ना लागि रहेको अनुभूति गराउन सबै एकजुट हुनुपर्ने बताएका छन्।

विजयादशमीको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशमा परिवर्तन ल्याउन सोचमा मात्र नभई व्यवहारमै सुधार आवश्यक रहेको उल्लेख गरेका छन्। इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट समाजमा विद्यमान विकृति हटाउन सकिने उनको भनाइ छ। प्रधानमन्त्री शाहले विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा व्याख्या गर्दै यस पर्वले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताएका छन्। उनले भ्रष्टाचार, कुशासन, प्रशासनिक ढिलासुस्ती, असमानता र राजनीतिक विकृतिलाई अहिलेको समाजका चुनौतीका रूपमा उल्लेख गर्दै तिनको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका हुन्। प्रत्येक नागरिकले राज्यबाट आफ्नो अधिकार, सेवा र संरक्षण पाएको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। उनका अनुसार भौगोलिक, सांस्कृतिक र भाषिक विविधताले भरिएको नेपाली समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकबीच सद्भाव, एकता, सम्मान र प्रेम अभिवृद्धि गर्न विजयादशमीले महत्वपूर्ण भूमिका खेल्छ। वर्षौँदेखि भेटघाट हुन नसकेका साथीभाइ तथा आफन्तसँग पुनर्मिलन र आत्मीयता साटासाट गर्ने अवसरका रूपमा पनि यस पर्वको विशेष महत्व रहेको उनले बताएका छन्। अन्त्यमा प्रधानमन्त्री शाहले सबैलाई आफ्नो स्थान र क्षमताअनुसार विजयादशमी मनाउन तथा आपसी सद्भाव, एकता, सम्मान र माया कायम राख्न आह्वान गरेका छन्।