|  

विजयादशमीमा टीका र जमरा लगाउने क्रम जारी

०४ कात्तिक, काठमाडौं । बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा आज मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ।

घटस्थापनाका दिन स्थापना गरिएका देवीको बिहान ८:४९ बजे विसर्जन गरेपछि टीका लगाउन सुरु गरिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउन इच्छुकका लागि बिहान १०:२६ बजेको साइत उत्तम रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन साइत खोज्न आवश्यक छैन। आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैँको सबैभन्दा महत्वपूर्ण दिन हो।