०५ कात्तिक, ललितपुर। पाटन दरबार संग्रहालयको ऐतिहासिक मूलचोकमा बुधबार ठेचोको प्रसिद्ध नवदुर्गा नाच प्रदर्शन गरिएको छ।
परम्परागत विधि, देवीपूजा र सांस्कृतिक आस्थाको सङ्गम बनेको उक्त प्रस्तुतिले पाटन दरबार क्षेत्रलाई भक्तिमय बनाउनुका साथै नेवार समुदायको प्राचीन सांस्कृतिक विरासतलाई जीवन्त बनाएको थियो। दसैंको विजयादशमी र कोजाग्रत पूर्णिमाका दिन मङ्गलबजारमा वर्षमा दुईपटक प्रदर्शन गरिने नवदुर्गा नाच यस क्षेत्रको पुरानो धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको छ। यस वर्षको प्रस्तुतिसँगै पाटनमा दसैंको सांस्कृतिक उत्सवले औपचारिक पूर्णता पाएको मानिन्छ। नाच प्रदर्शनका लागि ठेचोस्थित देवता घरबाट मुख्य देवता मू द्यः, मुकुन्डो, कलेवर, पोसाक र गरगहना खर्पनमा बोकेर देवगणहरू बुधबार मङ्गलबजार पुगेका थिए। त्यसअघि ११ देवगण, तीन नाइके र अन्य गुठीयारसहित ३४ जनाले देवता घरमा विशेष पूजा गरी आशीर्वाद लिएका थिए। ठेचोको नवदुर्गा गुठीका सदस्य विकास मालीका अनुसार यो नाच देवीको शक्तिपूजा र सामुदायिक एकताको प्रतीक हो। ठेचोबाट नवदुर्गा भगवतीलाई मङ्गलबजार ल्याएर मानमानेश्वरी देवीलाई फूल चढाउने परम्परा यससँग जोडिएको छ।
मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका सदस्य माधवश्याम शर्माका अनुसार मानमानेश्वरी देवीको निमन्त्रणामा ठेचोबाट नवदुर्गालाई पाटन ल्याउने प्राचीन चलन छ। मङ्गलबजारको चौबाटोमा नवदुर्गाका देवगणले मानमानेश्वरी भवानीसँग भेट गरी माल्यार्पण गर्ने परम्परा पनि रहिआएको छ। शर्माका अनुसार त्यस अवसरमा नवदुर्गाको तर्फबाट भैरव, बाराही र कालीले मानमानेश्वरी भवानीलाई फूल चढाउनुका साथै विमिरो उपहार दिने चलन छ। अष्टमातृका र नवदुर्गाबीच सासु–बुहारीको जस्तो सम्बन्ध रहेको धार्मिक मान्यता पनि यस परम्पराको विशेष पक्ष हो। लिच्छवीकालीन परम्परासँग जोडिएको नवदुर्गा नाचलाई राजा मानदेवकी इष्टदेवी मानिने मनमानेश्वरी, अर्थात् पुरानो तलेजुसँग सम्बन्धित सांस्कृतिक धरोहरका रूपमा लिइन्छ। पुस्तौँदेखि निरन्तर चल्दै आएको यस नाचले धार्मिक आस्थाको संरक्षणसँगै नेवार समुदायको पहिचान र परम्परालाई पनि जीवन्त राखेको छ।
स्थानीय सुनिल महर्जनका अनुसार यस्ता सांस्कृतिक प्रस्तुतिले नयाँ पुस्तालाई पुर्खाको सभ्यता, इतिहास र मौलिक परम्परासँग जोड्ने काम गर्छन्। पाटनको ऐतिहासिक मूलचोकमा प्रस्तुत नवदुर्गा नाच त्यसैले केवल धार्मिक अनुष्ठानमा सीमित नरही जीवित संस्कृतिको निरन्तरता बनेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar