|  

कवि एवं गीतकार दिनेश अधिकारीको एल्बमबाट–१

१८ वैशाख, काठमाडौँ । नेपाली सांगीतिक आकाशका एउटा उज्ज्वल नक्षत्र हुन– दिव्य खालिङ । बि.सं.२००८ साल चैत १६ गते भारतको दार्जिलिङमा जन्मेका खालिङको ११ असार २०६३ सालमा दुःखद निधन भयो ।

फेरि पनि आफ्ना सुन्दर सिर्जनाहरुका कारण नेपाली गीत÷संगीतको क्षेत्रमा उनको लोकप्रियता उत्तिकै छ । स्तरीय गीत÷संगीतको कुरा गर्दा दिव्य खालिङको स्थान पहिलो लहरमै सुरक्षित छ भन्नु अत्युक्ति    हुँदैन ।

स्वर सम्राट नारायण गोपाल गायन–यात्राको उत्तरार्धका सहयात्री खालिङका सधै नै ‘म हाँसें तिमीलाई रुवाई’, विपना नभै बाँचिदिने मभित्रका मेरा सपना, मायाँको आधारमा सम्झौता नै हुन्छ, प्रियसीका यादहरु कोरिएको मुटु जस्ता गीतहरुले एकैसाथ उनको लेखन र संगीतको “तागत“ को परिचय दिन्छ भने म त लाली गुराँस भएँछु ( क्षेत्रप्रताप अधिकारी/नारायण गोपाल ) तिमीलाई भुल्दा म एक्लो परेछु ( कञ्चन पुडासैनी/नारायण गोपाल ) पत्थरको मुटु बोकेर (अमृत श्रेष्ट/किरण प्रधान) उड्दै आयो चिट्ठी चरी (भूपाल राई/बिमला राई) म निदलाई बोलाउँछु ( चेतन कार्की/लासमित राई) जस्ता दर्जनौं लोकप्रिय गीतका संगीतकार दिव्य खालिङले केही चलचित्र र गीति–नाटकहरुमा समेत आफ्नो सिर्जना प्रवाहित गरेका छन्।

हामीबीच दाइभाईको सम्बन्ध थियो । अथवा यो सम्बन्धलाई ‘दाइ–साथी’ वा ‘भाइ–साथी’ को संज्ञा पनि दिन सकिन्छ । ग्रेस भाउजुसंग पनि मेरो उस्तै हिमचिम रहे–भएकोले पारिवारिक सुगन्ध पनि यो सम्बन्धमा मिसिएको छ भन्नु अतिसयोक्ति नहोला ।

बि.सं.२०४८ सालमा तत्कालीन महेन्द्र पुलिस क्लवमा प्रदर्शन भएको मैले लेखेको “ र फुल्छन् गुराँसहरु“ शीर्षकको गीतिनाटकमा प्रयुक्त १२–१५ वटा गीतहरु बाहेक उहाँको संगीतमा मेरा छ वटा गीतहरुले गुञ्जिने अवसर पाएका छन् । ती हुन् ‘तिमी जुन रहरले ममा फुल्न आयौँ ( नारायणगोपाल), माटो मात्र देश होइन मान्छेभित्र देश हुन्छ ( पवन गोले, नुपुर भट्टाचार्य र साथीहरु), कुन डालीमा बसूँ भन ! कहाँ फुलूँ भन ( ओम गुरुङ), पग्लेर जाने हिउँ म हैन( अरुण थापा) , भेटी नभेट्न सक्ने आकाशको तलाउ( किरण प्रधान ) र अँधेरोमा आँधी चल्यो कतातिर बास खोजूँ ( दिनेश सुब्बा ) ।