|  

पारिवारिक तीर्थयात्राका लागि रवि लामिछाने भारत प्रस्थान

०६ कात्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।

उनी पत्नी निकिता लामिछाने र मन्त्री प्रतिभा रावलसहित भारततर्फ गएका हुन्। लामिछानेसहितको टोली आज बिहान हवाईमार्गबाट काठमाडौं हुँदै धनगढी पुगेको थियो। धनगढीबाट उनीहरू भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। लामिछानेको सचिवालयका अनुसार यो भ्रमण पूर्णतः निजी तथा पारिवारिक तीर्थाटनका रूपमा तय गरिएको हो। भ्रमणका क्रममा उनले परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको प्रसिद्ध कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ।

तीन दिनसम्म चल्ने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।