०६ कात्तिक, काठमाडौं । दशैंको टीका सकिएसँगै चितवनका प्रमुख पर्यटकीय गन्तव्यमा घुम्न जानेको चहलपहल बढेको छ
सौराहा, पटिहानी, जगतपुर र मेघौलीका होटल तथा रिसोर्टमा आन्तरिक र विदेशी पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा समेत उत्साह थपिएको छ। पर्यटकीय सिजनको सुरुवात, दशैंको लामो बिदा र अनुकूल मौसमले चितवनको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ। प्रमुख पर्यटकीय क्षेत्रका होटलमा अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगेको छ भने केही ठूला रिसोर्ट दुई दिनयता पूर्ण रूपमा भरिएका छन्। चितवनको प्रमुख पर्यटकीय केन्द्र सौराहामा दशैंअघि करिब ३० प्रतिशत रहेको होटल अकुपेन्सी बढेर ८० प्रतिशतभन्दा माथि पुगेको छ। क्षेत्रीय होटल संघ सौराहाका महासचिव महेश खनालका अनुसार दशैंको टीकापछि बुकिङ र विभिन्न जिल्लाबाट पर्यटक आउने क्रम तीव्र भएको छ। सौराहामा १३६ वटा होटल सञ्चालनमा छन्, जहाँ कुल ६ हजार २०० बेड उपलब्ध छन्। नेपाली पर्यटकसँगै चिनियाँ तथा अन्य मुलुकका पर्यटकको आगमन बढ्दा होटल, रेस्टुरेन्ट र वन्यजन्तुसम्बन्धी गतिविधि पनि चलायमान भएका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाका महासचिव नवीन नेपालले लामो समयदेखि सुस्त रहेको रेस्टुरेन्ट व्यवसायमा दशैंपछि सुधार देखिएको बताए।
सौराहासँगै पटिहानीका होटल तथा रिसोर्टमा पनि पर्यटकको चाप बढेको छ। सोल्टी वेस्टइन्ड रिसोर्टका महाप्रबन्धक चोपलाल पाण्डेका अनुसार रिसोर्टका ५२ वटै कोठा लगातार तीन दिनका लागि बुक भएका छन्। पटिहानीस्थित रिभर बैंक रिसोर्टमा अकुपेन्सी ५० प्रतिशतभन्दा माथि पुगेको सञ्चालक दीपेन्द्र जोशीले बताए। त्यस्तै, नजिकैको जगतपुरस्थित टाइगरल्याण्ड रिसोर्टमा अकुपेन्सी करिब ८० प्रतिशत रहेको महाप्रबन्धक श्याम थापाले जानकारी दिए। पश्चिम चितवनको मेघौलीमा रहेका प्रमुख होटल तथा रिसोर्टमा पनि पर्यटकको उल्लेख्य उपस्थिति छ। सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेका अनुसार सिद्धार्थ वाइल्डलाइफ रिसोर्टमा अपेक्षाभन्दा राम्रो पर्यटक आगमन भएको छ। थारु समुदायका परम्परागत परिकार, हिमालयन ब्रेकफास्ट, कोदोको रोटी र लेमनग्रासको जुसजस्ता स्थानीय स्वादले पर्यटकलाई आकर्षित गरिरहेको उनले बताए। रिसोर्टले राधाकृष्ण सामुदायिक वनदेखि चितवन राष्ट्रिय निकुञ्जसम्म जिप सफारीको सुविधा पनि उपलब्ध गराउँदै आएको छ। मेघौलीकै बाराही जंगल लज पनि दुई दिनदेखि पूर्ण रूपमा भरिएको छ। यहाँ ठूला रिसोर्टसँगै साना होटल र होमस्टेले समेत पर्यटकलाई सेवा दिइरहेका छन्।
भदौ र असोजमा आएको बाढी तथा राष्ट्रिय राजमार्गमा भएको क्षतिले घुमघामको वातावरण प्रभावित भएको थियो। तर, दशैंको बिदासँगै पर्यटकको आगमन बढ्दा व्यवसायीमा आशा पलाएको छ। सौराहाका पर्यटन व्यवसायी बासु ढुंगानाले सञ्चालन गरेको वनबास होटलमा विगत तीन दिनदेखि ९० प्रतिशतभन्दा बढी कोठा बुक भएका छन्। उनका अनुसार तिहार र छठसम्म पर्यटकको चहलपहल कायम रहने अपेक्षा छ। दशैंपछि सौराहामा आन्तरिक पर्यटकलाई लक्षित गर्दै नेपथ्यको कन्सर्ट आयोजना गर्ने तयारीले पनि पर्यटन गतिविधि थप बढ्ने अपेक्षा गरिएको छ।
पर्यटन क्षेत्रका जानकार हिम्मत पुरीका अनुसार दशैंको टीकापछि आइतबारसम्मको बिदाले परिवारसहित घुम्न जाने अवसर मिलेको छ। अनुकूल मौसम र काठमाडौं, पोखरा तथा बुटवलबाट चितवन आउजाउ गर्न सकिने सडक सुविधाले पनि पर्यटकलाई आकर्षित गरेको उनको भनाइ छ। विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगले पनि छोटो दूरीको पर्यटनलाई प्रोत्साहन गरेको हुन सक्ने पुरीको अनुमान छ। पेट्रोलियम पदार्थमा हुने खर्च बचत हुँदा त्यसलाई यात्राका क्रममा होटलमा बस्न तथा अन्य गतिविधिमा खर्च गर्न सकिने उनको बुझाइ छ। त्यसैगरी, सौराहासहित अन्य प्रवेश नाकाबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने सुविधा उपलब्ध हुनुले पनि पर्यटक आगमनमा सहयोग पुगेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८२/०८३ मा कुल २ लाख ७२ हजार ९२३ पर्यटक पुगेका थिए। निकुञ्ज कार्यालयका अनुसार तीमध्ये १ लाख ६१ हजार ३७५ नेपाली, सार्क मुलुकका २२ हजार ८८३ र अन्य मुलुकका ८८ हजार ६६५ पर्यटक थिए। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष नेपाली पर्यटकको संख्या ४४ हजार १६९ ले बढेको छ। निकुञ्ज घुम्ने पर्यटकमध्ये स्वदेशीको संख्या बढ्दै जानुले आन्तरिक पर्यटनको सम्भावना बलियो बन्दै गएको देखाउँछ। तथ्यांकअनुसार सबैभन्दा धेरै पर्यटक कात्तिकमा ३२ हजार २५२ जना पुगेका थिए भने सबैभन्दा कम साउनमा ७ हजार ७३ जनाले निकुञ्ज भ्रमण गरेका थिए।
चितवन पुग्ने पर्यटकका लागि निकुञ्जभित्रको जिप सफारी, सामुदायिक तथा मध्यवर्ती वनमा हात्ती सफारी, राप्ती नदीमा डुंगा सयर र थारु संस्कृतिको अनुभव प्रमुख आकर्षण हुन्। जंगली जनावर र विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न पनि स्वदेशी तथा विदेशी पर्यटक चितवन पुग्ने गरेका छन्।
दशैंपछि होटल तथा रिसोर्टमा देखिएको चापले चितवनको पर्यटन व्यवसाय पुनः लयमा फर्कने संकेत गरेको छ। आगामी तिहार र छठसम्म पर्यटकको आगमन कायम रहेमा बाढी तथा अन्य संकटबाट प्रभावित व्यवसायलाई थप राहत पुग्ने अपेक्षा व्यवसायीहरूले गरेका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar