|  

नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, मंसिर २५ सम्म सञ्चालन हुने

०६ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोलिदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ।

पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियानको उद्घाटन शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत गरिनेछ। अभियानमा पार्टी संगठन विस्तार तथा सुदृढीकरण, सरकारका कामकारबाहीमाथि खबरदारी र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई प्राथमिकता दिइनेछ। पार्टीले संगठनात्मक गतिविधि अघि बढाउन पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। स्थानीय निर्वाचनपछि जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्ने योजना छ।

त्यस्तै, पार्टीका विभिन्न संरचनामा युवाको सहभागिता ५० प्रतिशतसम्म पुर्‍याउने र प्रवासमा रहेका नेपालीका मुद्दालाई प्राथमिकता दिने विषयमा पनि छलफल भएको छ। नेकपाले ग्रेजोनको रिपोर्टबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत गरेको छ।