|  

हुम्लाको लिमीमा हिमपातले फसेका २०० पशुको एक महिनापछि उद्धार

०६ कात्तिक, काठमाडौं । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा हिमपातका कारण फसेका २०० पशुको झण्डै एक महिनापछि उद्धार गरिएको छ।

असोज ९ देखि ११ गतेसम्म परेको भारी हिमपातपछि सम्पर्कविहीन भएका पशुमा १०० चौँरी गाई, ५० घोडा र ५० जुमा तथा झोपा छन्। वडाध्यक्ष पाल्जोर तामाङका अनुसार निङ खोला, साक्या खोला, गेउ खोला र लाप्चा क्षेत्रका उच्च पाटनबाट कठिन प्रयासपछि पशुको उद्धार गरिएको हो। बाक्लो हिउँ र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा समस्या भएको थियो।

लिमीका बासिन्दाले बर्सेनि हिमपातका कारण समस्या भोग्दै आएका छन्। नारा र न्यालु लेकमा हिउँ जमेर सडक अवरुद्ध हुँदा सदरमुकाम सिमकोट आवतजावत गर्न र आवश्यक सेवा सुविधा लिन कठिन हुने गरेको स्थानीयले बताएका छन्।