|  

काठमाडौं उपत्यकामा दशैंमा सवारी दुर्घटना र मृतकको संख्या घट्यो

०६ कात्तिक, काठमाडौं । यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र दुर्घटनाबाट हुने मानवीय क्षतिमा कमी आएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्ष दशैंमा १५५ वटा दुर्घटना भएकामा यस वर्ष घटेर १०५ वटामा सीमित भएका छन्।

त्यस्तै, दुर्घटनामा परी मृत्यु हुनेको संख्या गत वर्षको १० बाट घटेर यस वर्ष तीनमा झरेको छ। ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस वर्षका अधिकांश दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित छन्। तीव्र गतिका कारण सवारीसाधन अनियन्त्रित हुँदा दुर्घटना हुने गरेको उनले बताए। चाडपर्व लक्षित सुरक्षा योजना, नियमित जाँच तथा निगरानी र सरोकारवालासँगको समन्वयले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरीले जनाएको छ। दुर्घटनापछि तत्काल उद्धार र प्रभावकारी उपचारले पनि घाइतेको ज्यान बचाउन मद्दत गरेको प्रहरीको भनाइ छ। दुर्घटना र मृतकको संख्या घटे पनि तीव्र गति, चालकको लापरबाही र ट्राफिक नियम उल्लंघनबाट हुने जोखिम कायमै रहेकाले प्रहरीले सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ।