|  

द्वादशीमा पनि टीका र जमरा लगाएर दसैं मनाइँदै

०६ कात्तिक, काठमाडौं । बडादसैंको मुख्य दिन विजयादशमी सकिए पनि द्वादशीका दिन आज पनि टीका र जमरा लगाएर दसैं मनाउने क्रम जारी छ।

टीकाको शुभ साइतमा लगाउन नभ्याएका तथा आफन्त र मान्यजनकहाँ जान बाँकी रहेकाहरूले आज पनि टीका थापेर आशीर्वाद लिइरहेका छन्। नवदुर्गाको प्रसादका रूपमा मान्यजनबाट रातो टीका र जमरा लगाई आशीर्वाद लिने परम्पराअनुसार बुधबारदेखि सुरु भएको टीका थाप्ने क्रम बिहीबार एकादशी हुँदै आज द्वादशीसम्म जारी रहेको हो। परम्पराअनुसार कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट टीका र जमरा लगाएर दसैं मनाउने चलन छ।

दसैंका कारण सुनसान बनेको काठमाडौं उपत्यकामा आफन्तकहाँ टीका लगाएर फर्किनेहरूको चहलपहल बढ्न थालेको छ। पछिल्ला दिनमा सडक तथा सार्वजनिक स्थानमा सर्वसाधारणको आवागमन पनि बढेको देखिएको छ।