|  

बुधबारदेखि पाँच दिनसम्म झरीको सम्भावना, केही क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने

०७ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी बुधबारदेखि आइतबारसम्म नेपालका विभिन्न क्षेत्रमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्का अनुसार यस अवधिमा केही स्थानमा कुल वर्षा २०० मिलिमिटरभन्दा बढी पुग्न सक्ने सम्भावना छ। मौसमविद् विनोद पोखरेलले आफूले अध्ययन गरिरहेका मौसम पूर्वानुमान मोडेलहरूले केही क्षेत्रमा पाँच दिनको अवधिमा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने संकेत गरेको बताएका छन्। यद्यपि, यो एकै दिनमा हुने वर्षा नभई उक्त अवधिभरको कुल वर्षाको अनुमान हो। वर्षाको मात्रा, समय र प्रभावित क्षेत्र परिवर्तन हुन सक्ने उनको भनाइ छ।

छोटो समयमा भारी वर्षा भए जोखिम बढ्ने
वर्षाको प्रभाव यसको मात्रा मात्र नभई कति समयमा र कुन क्षेत्रमा पर्छ भन्नेमा निर्भर हुने पोखरेलले बताएका छन्। कात्तिकमा धान भित्र्याउने समय र हिमाली क्षेत्रमा पर्यटक तथा यात्रुको आवागमन हुने भएकाले सम्भावित वर्षाले कृषि, पर्यटन र यातायात क्षेत्रमा असर पार्न सक्ने उनको भनाइ छ। छोटो समयमा ठूलो वर्षा भए मनसुनको समयमा समेत जोखिमपूर्ण हुने उल्लेख गर्दै उनले हावाहुरी र असिना परे थप क्षति हुन सक्ने चेतावनी दिएका छन्। उच्च हिमाली क्षेत्रमा भारी हिमपात, अत्यधिक चिसो र हिमपहिरोको जोखिमसमेत बढ्न सक्ने उनले बताएका छन्। यसअघि भएका वर्षा तथा पहिरोका कारण कमजोर बनेका सडक र भिरालो जमिनमा थप वर्षा हुँदा पहिरो जाने, सडक अवरुद्ध हुने र बाढी आउने जोखिम पनि रहन्छ।

सन् २०१४ को हिमआँधीसँग केही मौसमी समानता
पोखरेलले अहिले विकसित भइरहेको मौसम प्रणालीमा सन् २०१४ अक्टोबर १४ मा आएको विनाशकारी हिमआँधीसँग केही समान मौसमी संकेत देखिएको बताएका छन्। उक्त घटनामा अन्नपूर्ण आसपासका पदयात्रा क्षेत्रमा समेत गरी ४३ जनाले ज्यान गुमाएका थिए। तर, अहिलेको मौसम प्रणालीबाट पनि त्यस्तै परिणाम आउँछ भन्ने निश्चित नभएको उनले स्पष्ट पारेका छन्। समयमै सचेतना अपनाउने र आवश्यक तयारी गर्ने हो भने सम्भावित जोखिम न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।

बंगालको खाडीको प्रणाली चक्रवातमा विकसित हुने अनुमान
नेपाल मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ५:४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको थियो। उक्त प्रणाली क्रमशः शक्तिशाली बन्दै कात्तिक ९ गते सोमबारसम्म चक्रवातमा विकसित हुन सक्ने विभागको पूर्वानुमान छ। चक्रवात पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश र आसपासको दक्षिण ओडिशा तटबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ। यसै प्रणालीका कारण कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, नेपालमा पर्ने वर्षाको वास्तविक मात्रा, जोखिमको स्तर र सम्भावित क्षतिबारे अहिले नै यकिन गर्न नसकिने विभागले स्पष्ट पारेको छ।

कृषि र पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह
सम्भावित प्रतिकूल मौसमलाई ध्यानमा राख्दै कृषि तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति र निकायलाई सतर्क रहन विभागले अनुरोध गरेको छ। मौसमविद् पोखरेलले पनि मौसमको पछिल्लो अपडेट र आधिकारिक सूचनाका आधारमा मात्र यात्रा योजना बनाउन सुझाव दिएका छन्। विशेषगरी हिमाली क्षेत्रमा यात्रा गर्ने, पदयात्रामा निस्कने तथा पहिरोको जोखिम भएका सडक प्रयोग गर्नेहरूले मौसमको अवस्थालाई ध्यानमा राख्नुपर्ने देखिन्छ।