|  

जलवायु न्यायका लागि नेपालको माग गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

०७ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका प्राकृतिक विपद्का असरलाई ध्यानमा राख्दै नेपालको जलवायु न्यायसम्बन्धी माग गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेकी छन्।

चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु जोखिम न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताइन्। भण्डारीले हिमालय क्षेत्रको संरक्षणका लागि नेपाल, चीन, भारतलगायतका देशबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य बढाउनुपर्नेमा जोड दिइन्। उनले जलवायु जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट दीर्घकालीन र भरपर्दो सहयोग सुनिश्चित गर्नुपर्ने बताइन्।

विश्वव्यवस्थामा शक्ति नभई अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले कमजोर तथा जोखिममा रहेका राष्ट्रका आवाजलाई सम्मान गर्न र संयुक्त राष्ट्रसङ्घलाई थप प्रभावकारी बनाउन आग्रह गरिन्। भण्डारीले गरिबी न्यूनीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र वातावरण संरक्षणलाई अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख प्राथमिकता बनाउनुपर्ने धारणा पनि राखिन्।नेपाल–चीन सम्बन्ध सांस्कृतिक आदानप्रदान र जनस्तरको आत्मीयतामा आधारित रहेको उल्लेख गर्दै उनले विश्वका साझा चुनौती समाधान गर्न संवाद, सहकार्य र सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताइन्।