|  

बडादसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

८ कात्तिक, काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको १५ दिन लामो दुर्गा पक्ष आज साँझ धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेसँगै सम्पन्न हुनेछ।

धार्मिक मान्यताअनुसार, कोजाग्रत पूर्णिमाको रात जाग्राम बस्ने भक्तजनका घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् । यही विश्वासका आधारमा नेपालीहरूले महालक्ष्मीको पूजा आराधना गरी यो पर्व मनाउँदै आएका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आजै शास्त्रअनुसारका बलिपूर्तिको कार्य पनि सम्पन्न हुनेछ।

विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजबाट समाप्त हुन्छ। यस दिन घरमा राखिएको जमरा नजिकैको नदी, तलाउ वा पोखरीमा विसर्जन गर्ने परम्परा छ।

नवरात्र र विजयादशमी सकिए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमाका दिन समाप्त हुने धार्मिक मान्यता छ। यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ । आज महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पूजा गर्ने तथा राति जाग्राम बस्ने परम्परासमेत रहेको छ।

यसैबीच, कार्तिक स्नान, तुलसीको विशेष पूजा आराधना र आकाशदीपदान भने कात्तिक ९ गतेदेखि सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।