|  

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको संकेत

८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई नियन्त्रणमा लिन सक्ने बताएका छन्। उनले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने सङ्केतसमेत दिएका छन्।

शुक्रबार फ्लोरिडामा आयोजित र्‍यालीमा सहभागी हुन ह्वाइट हाउसबाट निस्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको दाबी गरे।

“हामीले चाह्यौँ भने त्यहाँको सबै तेल कब्जा गर्न सक्छौँ। हामी पूरै देश नै कब्जा गर्न सक्छौँ,” ट्रम्पले भने।

इरानसँगको द्वन्द्व अझै एक वर्षसम्म लम्बिन सक्ने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जको भनाइबारे सोधिएको प्रश्नमा ट्रम्पले द्वन्द्व छिट्टै अन्त्य गर्न सकिने बताए। उनले द्वन्द्व पूर्ण रूपमा अन्त्य गर्ने वा इरानलाई कमजोर हुँदै जान दिने भन्ने विषयमा निर्णय गर्नुपर्ने धारणा राखे।

पछि फ्लोरिडामा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्ध अर्को सैन्य कारबाही सञ्चालन गर्न सकिने सङ्केत गरे। “हामी अर्को एउटा सानो ‘एपिक फ्युरी’ सञ्चालन गर्न सक्छौँ,” उनले भने।

‘एपिक फ्युरी’ नाम फेब्रुअरी २८ मा अमेरिकाले इजरायलसँग समन्वय गर्दै इरानविरुद्ध सञ्चालन गरेको सैन्य कारबाहीसँग सम्बन्धित छ।

अमेरिका र इजरायलले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो। उनको अभिव्यक्तिले इरानसँगको द्वन्द्वमा थप सैन्य कारबाही हुन सक्ने सम्भावनाबारे चर्चा बढाएको छ।