|  

बङ्गालको खाडीमा विकसित हुँदै गरेको प्रणालीले नेपालमा वर्षा र हिमपात गराउने सम्भावना

८ कात्तिक, काठमाडौं । बङ्गालको खाडीमा विकसित हुँदै गरेको मौसमी प्रणालीका कारण आगामी बिहीबारदेखि शनिबारसम्म नेपालको पूर्वी तथा मध्य भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर आवश्यक तयारी गर्न आग्रह गरेका छन्। उक्त प्रणाली भारतको ओडिसा र बिहार हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ।

यसको प्रभावले पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ।

सम्भावित वर्षाका कारण धान काट्ने तथा भित्र्याउने काम प्रभावित हुन सक्ने भएकाले किसानलाई मौसमको अवस्था हेरेर योजना बनाउन सुझाव दिइएको छ।

त्यस्तै, दसैँपछि कार्यस्थल फर्किने तयारीमा रहेकाहरूलाई शुक्रबार र शनिबारको यात्रा तय गर्दा मौसमको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ। उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने योजनामा रहेकाहरूलाई समेत सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राखेर सतर्कता अपनाउन सुझाव दिइएको छ।