|  

ट्रम्पले थप आक्रमणबारे विचार गरिरहँदा अमेरिकी युद्धपोतलाई नजिक आउन नदिने इरानको चेतावनी

८ कात्तिक, काठमाडौं ।  इरानको सशस्त्र सेनाले अमेरिकी युद्धपोतलाई आफ्नो क्षेत्रीय जलक्षेत्रनजिक प्रवेश नगर्न चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य आक्रमण गर्ने वा नाकाबन्दी र प्रतिबन्धमार्फत दबाब कायम राख्ने विषयमा विचार गरिरहेका बेला इरानको यस्तो चेतावनी आएको हो।

शुक्रबार फ्लोरिडामा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्ध पुनः ‘एपिक फ्युरी’ नामको सैन्य अभियान सञ्चालन गर्न सकिने बताएका थिए। अमेरिकाले युद्धको सुरुवातमा इरानमाथि गरेको व्यापक बमबारी अभियानलाई यही नाम दिएको थियो।

ट्रम्पले इरानमाथि ठूलो स्तरको आक्रमण गरेर युद्ध अन्त्य गर्ने वा नौसैनिक नाकाबन्दी तथा प्रतिबन्धमार्फत दबाब कायम राख्ने भन्ने विषयमा पनि प्रश्न उठाएका थिए।

यसको जवाफमा इरानी सशस्त्र सेनाका प्रमुख कमान्डर अली अब्दोल्लाहीले अमेरिकी नौसेनालाई इरानको क्षेत्रीय जलक्षेत्र वा आसपासमा प्रवेश गर्न नदिने दाबी गरेका छन्। उनले उक्त क्षेत्रमा प्रवेश गर्ने जहाजलाई निशाना बनाउन इरान सक्षम रहेको बताएका छन्।

शनिबार सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक वक्तव्यमा अब्दोल्लाहीले अमेरिकी सैनिक र सैन्य शक्तिलाई पुनः फारसको खाडीमा प्रवेश गराउने ट्रम्पको चाहना पूरा नहुने चेतावनी दिएका छन्।

उनले अमेरिकाले इरानको सैन्य क्षमता अधिकांश रूपमा नष्ट गरेको दाबी गरिरहे पनि आफ्ना विमानवाहक युद्धपोत र सहयोगी जहाजलाई इरानी क्षेत्रनजिक ल्याउन नसकेको भन्दै अमेरिकी भनाइप्रति प्रश्न उठाएका छन्।

अब्दोल्लाहीले गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा इरानी सेना दुवै देशलाई दीर्घकालीन सङ्कटमा पार्न दृढ रहेको पनि बताएका छन्। उक्त आक्रमणपछि सुरु भएको द्वन्द्वले मध्यपूर्वमा तनाव थप बढाएको छ।