|  

एनपीएल सुरक्षामा दैनिक एक हजारभन्दा बढी प्रहरी खटिने, ड्रोनबाट समेत निगरानी

०८ कात्तिक,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ।

प्रतियोगितालाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको हो। परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार खेलाडी बस्ने आठवटा होटल, होटलदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानसम्मको आवतजावत, ट्राफिक व्यवस्थापन र दर्शकको सुरक्षामा विशेष निगरानी गरिनेछ।

त्यस्तै, उद्घाटन र समापन समारोहमा विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि थप व्यवस्था मिलाइनेछ। सुरक्षा निगरानीमा सादा पोसाकका प्रहरीसँगै सीसीटीभी, ड्रोन र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिनेछ। बाह्य सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी पनि परिचालन हुने बताइएको छ।