|  

विपद्को जोखिम बढ्दै, मौसम विभागमै प्रविधि र जनशक्तिको अभाव

०८ कात्तिक, काठमाडौं । प्राकृतिक विपद्का घटना बढिरहेका बेला मौसम पूर्वानुमान र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले गम्भीर चुनौती सामना गरिरहेको छ।

विभागले सार्वजनिक गरेको श्वेतपत्रमा आधुनिक प्रविधि, दक्ष जनशक्ति र बजेट अभावका कारण जोखिमयुक्त क्षेत्रमा समयमै सही सूचना पुर्‍याउन कठिन भइरहेको उल्लेख छ। विभागका अनुसार सुर्खेत, पाल्पा र उदयपुरमा जडान गरिएका अत्याधुनिक मौसम राडारको सञ्चालन र मर्मतसम्भारसमेत चुनौतीपूर्ण बनेको छ। सुर्खेतको राडार वर्षौंदेखि बिग्रिएको छ भने अन्य राडारका पाटपुर्जा र प्राविधिक जनशक्ति विदेशबाटै ल्याउनुपर्ने बाध्यता छ।

हालै बूढीगण्डकीमा आएको बाढीका क्रममा स्थानीयले सामाजिक सञ्जालमार्फत सूचना दिएपछि मात्रै विभागले सतर्कता जारी गरेको भन्दै आलोचनासमेत भएको थियो। विभागले एआई प्रविधिको सीमित प्रयोग, वैज्ञानिक अनुसन्धानको कमी र दुर्गम क्षेत्रमा मौसम केन्द्र विस्तार गर्न नसक्नुलगायत २२ वटा समस्या औँल्याएको छ। यी चुनौती समाधान गर्न पर्याप्त बजेट, आधुनिक प्रविधि र दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने विभागको निष्कर्ष छ।