|  

दसैंका आठ दिनमा कालीमाटीमा भित्रियो झन्डै २८ लाख किलो कृषि उपज

०८ कात्तिक, काठमाडौं । दसैंको आठ दिनमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै २८ लाख किलो कृषि उपज तथा माछा भित्रिएको छ।

कात्तिक १ देखि ८ गतेसम्म बजारमा २७ लाख ९४ हजार २२१ किलो वस्तु भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। समितिका अनुसार यस अवधिमा सबैभन्दा बढी २१ लाख ९१ हजार ३२९ किलो हरियो तरकारी भित्रिएको छ। त्यस्तै, ३ लाख ८३ हजार ३०० किलो फलफूल, १ लाख ११ हजार ७४० किलो मसलाजन्य वस्तु र ८८ हजार २९७ किलो माछा बजारमा आएको छ। दसैं अवधिमा सबैभन्दा बढी कृषि उपज शनिबार भित्रिएको थियो। उक्त दिन ६ लाख ११ हजार ८७५ किलो वस्तु बजार आएकोमा आज भने सबैभन्दा कम १ लाख ३९ हजार १०५ किलो मात्रै भित्रिएको छ।

दसैं मनाउन उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिए पनि कालीमाटी बजारले यहाँ रहेका उपभोक्ताको मागअनुसार आपूर्ति निरन्तर कायम राखेको थियो। दसैं मनाउन उपत्यकाबाहिर गएकाहरू फर्किन थालेसँगै बजारमा चहलपहलसमेत बढ्न थालेको छ।