|  

झापामा भूमिगत डिजेल ट्यांकी पड्किएर आगलागी, एक जना घाइते

९ कात्तिक, काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन परिसरमा भूमिगत डिजेल ट्यांकी विस्फोट भएर आगलागी हुँदा एक जना घाइते भएका छन्।

आइतबार राति साढे ७ बजे टिपरमा डिजेल लोड गर्ने क्रममा करिब ९ हजार ५०० लिटर डिजेल भण्डारण गरिएको ट्यांकी विस्फोट भएको हो।

आगलागीमा टिपर चालक इलामका ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आगलागीबाट टिपरमा सामान्य क्षति पुगेको छ भने ट्यांकीमा रहेको सम्पूर्ण डिजेल जलेर नष्ट भएको छ। प्रहरी, शिवसताक्षी नगरपालिकाको दमकल र कम्पनीका कर्मचारीको प्रयासमा सोमबार बिहान साढे ५ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।