०९ कात्तिक, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा आलोचना बढेको छ।
नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने समय समाप्त भएको भन्ने वाग्लेको टिप्पणीप्रति नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका हुन्। एमाले नेता ज्ञवालीले सोमबार सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीको अभिव्यक्ति गैरकूटनीतिक भएको टिप्पणी गरेका छन्। नेपालको राष्ट्रवाद कुनै देशको विरोधमा आधारित नरहेको भन्दै उनले राष्ट्रिय स्वाभिमान र हितका विषय उठाउनुलाई भारतविरोधका रूपमा व्याख्या गर्न नमिल्ने बताएका छन्। नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नरहेको जिकिर गर्दै ज्ञवालीले नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक सम्मान र हितमा आधारित छिमेकी सम्बन्ध चाहेको उल्लेख गरेका छन्। उनले अर्थमन्त्रीलाई कुन युगको अन्त्य भएको हो भन्दै प्रश्नसमेत गरेका छन्।
ज्ञवालीले नेपाल–भारतबीच सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार घाटा, नेपाली उत्पादनको भारतीय बजारमा पहुँच, सीमावर्ती क्षेत्रमा डुबान तथा वैकल्पिक हवाई प्रवेशमार्गलगायतका समस्या समाधान हुन बाँकी रहेको बताएका छन्। यी विषयमा भारतसँग स्पष्ट र गम्भीर कूटनीतिक संवाद आवश्यक रहेको उनको भनाइ छ। समस्या लुकाएर सम्बन्ध सुदृढ नहुने भन्दै उनले राष्ट्रिय हितका मुद्दामा राजनीतिक एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्।
यस्तै, राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पनि विदेशी मञ्चमा पुगेर नेपालको राष्ट्रिय भावनालाई भारतविरोधी राष्ट्रवादका रूपमा चित्रण गर्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत थापाले नेपालको राष्ट्रियता सार्वभौमिकता, स्वाभिमान र जनताको हितसँग जोडिएको उल्लेख गरेका छन्। सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रिय हितको पक्षमा उभिनु भएको उनको तर्क छ। थापाले अर्थमन्त्रीको अभिव्यक्ति सरकारको आधिकारिक धारणा हो वा व्यक्तिगत विचार हो भन्ने विषयमा स्पष्ट जवाफ दिनसमेत माग गरेका छन्।
अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित ‘एनडिटिभी वर्ल्ड समिट २०२६’ मा नेपाल–भारत सम्बन्धबारे बोल्दै भारतविरोधी भावनामा आधारित राष्ट्रवादको समय सकिएको बताएका थिए। उनले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध गहिरो रहेको उल्लेख गर्दै दुई देशबीच देखिने समस्यालाई संवादबाट समाधान गर्नुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार भारतसँगको सम्बन्ध थप सुदृढ बनाउन इच्छुक रहेको बताउँदै वाग्लेले प्रधानमन्त्रीको भारत भ्रमण छिट्टै हुने जानकारीसमेत दिएका थिए। तर, उनको उक्त अभिव्यक्तिले नेपाल–भारत सम्बन्ध, राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादाका विषयमा नयाँ राजनीतिक बहस सिर्जना गरेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar