|  

नेपालमा बिहीबारदेखि भारी वर्षाको सम्भावना

१० कात्तिक, काठमाडौं ।  चक्रवात अर्नब आज अपराह्न वा साँझ भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ।

उक्त प्रणालीको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ। नेपालमा भोलिदेखि आकाशमा बादल देखिन थाले पनि वर्षा भने बिहीबारदेखि सुरु हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमानअनुसार चक्रवातको प्रभावले गण्डकीदेखि कोशी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना अझै कायम छ।

विभिन्न सातवटा मौसम पूर्वानुमान मोडेलको समग्र विश्लेषण गर्दा पनि नेपालमा भारी वर्षाको जोखिम देखिएको छ।

चक्रवातको प्रभाव नेपालमा कति तीव्र हुने र कुन क्षेत्रमा बढी वर्षा हुने भन्ने विषयमा आगामी मौसम पूर्वानुमानले थप स्पष्ट पार्नेछ।

त्यसैले सम्भावित वर्षालाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दाले मौसमसम्बन्धी आधिकारिक सूचना र पूर्वानुमानमा ध्यान दिन आवश्यक छ।