|  

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्छ : बाबुराम भट्टराई

१० कात्तिक,काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको दायराभित्र रहेर पूरा कार्यकाल काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।

निर्वाचन सम्पन्न भएको छोटो समयमै सरकार परिवर्तन र आन्दोलनका चर्चा सुरु हुनु राजनीतिक स्थिरताका लागि चिन्ताजनक भएको उनको भनाइ छ। मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै आन्दोलन र सत्ता परिवर्तनका विषय उठ्न थालेकोप्रति असन्तुष्टि जनाएका हुन्। उनले लोकतान्त्रिक व्यवस्थामा सरकार र प्रतिपक्षबीच प्रतिस्पर्धा, आलोचना र सहकार्य हुनु स्वाभाविक भए पनि निर्वाचित सरकारलाई सुरुदेखि नै अस्थिर बनाउने प्रयास उचित नहुने बताएका छन्।

विगतमा पटक-पटक भएका सरकार परिवर्तनले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेलेको उल्लेख गर्दै भट्टराईले त्यसको असर अर्थतन्त्र र युवा पलायनमा समेत परेको बताएका छन्। सरकारका गलत कामको आलोचना र निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिँदै उनले विशेषगरी विपत्तिपीडित, गरिब, कमजोर तथा ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायका समस्या सम्बोधन गर्न सरकारलाई सचेत गराउनुपर्ने बताएका छन्। जनताको आवाज नसुन्ने सरकारलाई संवैधानिक र कानुनी प्रक्रियाबाट जवाफदेही बनाउनुपर्ने उनको धारणा छ। तर, सरकारको कार्यसम्पादन चित्त नबुझेकै आधारमा तत्काल सत्ता परिवर्तनको प्रयास गर्नुभन्दा लोकतान्त्रिक विधि अपनाउनुपर्ने भट्टराईले बताएका छन्।

निर्वाचित सरकारले जनअपेक्षाअनुसार काम गर्न नसके वा मुलुकलाई गलत दिशातर्फ लगे आगामी निर्वाचनबाट जनताले नै त्यसको फैसला गर्नुपर्ने उनको भनाइ छ।