|  

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा ढिलाइ, लागत बढेर ८६ करोड नाघ्यो

१० कात्तिक,काठमाडाैं । चितवनको भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ।

आगामी पुस २७ गतेभित्र निर्माण सक्ने लक्ष्य राखिए पनि हालसम्म ६५ प्रतिशत मात्रै काम पूरा भएको छ। बजेट निकासामा ढिलाइ, निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम तथा प्राविधिक समस्याका कारण रंगशाला निर्माण प्रभावित भएको हो। भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बागमती प्रदेश सरकारबाट बजेट निकासा समयमै नहुँदा निर्माण कम्पनीले बीचमा काम रोक्नुपरेको थियो। रंगशाला निर्माणमा प्रदेश सरकारको ७० प्रतिशत र महानगरपालिकाको ३० प्रतिशत लगानी रहने सम्झौता छ। निर्माण कम्पनीका व्यवस्थापक सम्राट सिलवालले पुराना संरचनामा काम गर्नुपर्ने र प्राविधिक निर्णयहरूमा देखिएको असमझदारीले पनि निर्माणमा ढिलाइ भएको बताएका छन्। निर्धारित समयमा काम सम्पन्न हुने सम्भावना कम भएपछि कम्पनीले म्याद थपका लागि निवेदन दिने तयारी गरेको छ।

यसैबीच रंगशालाको निर्माण लागतसमेत बढेको छ। सुरुमा भ्याटसहित ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा पहिलो भेरिएसन अर्डर स्वीकृत भएसँगै लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ। असोज २८ गते स्वीकृत उक्त निर्णयसँगै निर्माण कार्यको दायरा पनि थपिएको छ। महानगरका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार रंगशालाको मुख्य मैदान निर्माणको काम अझै बाँकी छ। मैदानमा माटोका विभिन्न तह राख्ने, पाइप बिछ्याउने र बरुणा जातको घाँस रोप्ने काम गर्नुपर्नेछ। चारवटा प्यारापिटमध्ये दुईवटाको निर्माण सम्पन्न भएको छ भने तेस्रोको ९० प्रतिशत र चौथोको ७० प्रतिशत काम सकिएको छ। दुईवटा टावरको निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जडानको काम बाँकी छ। हाल रंगशालामा दैनिक करिब ८० जना कामदार खटिएका छन्।

भरतपुर महानगरपालिकाले २०८१ असार २४ गते हिमालयन-कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता गरी रंगशाला निर्माण अघि बढाएको थियो। यसअघि धुर्मुस-सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण निर्माणलाई निरन्तरता दिन नसकेपछि महानगरले प्रदेश सरकारसँगको सहकार्यमा काम अघि बढाएको हो। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निर्माण कम्पनीलाई आवश्यक सहयोग उपलब्ध गराउँदै काम तीव्र बनाउन आग्रह गरिएको बताएका छन्। उनले निर्माणमा अब थप ढिलाइ हुन नदिन महानगर प्रतिबद्ध रहेको उल्लेख गरे। नेपालमा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको र नेपाल प्रिमियर लिग (एनपीएल) को लोकप्रियतासमेत बढेकाले रंगशाला छिटो सम्पन्न गर्न दबाब बढेको छ। निर्माण सम्पन्न भएपछि भरतपुरमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता आयोजना गर्ने महानगरको लक्ष्य छ।