|  

दशैंमा अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्यो, पाँच हजारभन्दा बढी विदेशीको आगमन

१० कात्तिक, काठमाडाैं । यस वर्षको दशैं बिदामा अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म ५ हजार ३८४ विदेशी पर्यटकले पदमार्गको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका अनुसार असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त संख्यामा पर्यटक भित्रिएका हुन्। गत वर्षको सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए। यस वर्ष पर्यटक आगमन दुई हजार ६२७ ले बढेको छ। केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार मनास्लु पदमार्गमा बाढीपहिरोले क्षति पुर्‍याएपछि त्यहाँ जाने केही पर्यटक अन्नपूर्ण क्षेत्रतर्फ मोडिएका हुन्। मौसम अनुकूल हुनु र घुमफिरप्रतिको आकर्षण बढ्नुले पनि पर्यटक आगमनमा सकारात्मक प्रभाव पारेको उनले बताए। तथ्याङ्कअनुसार यस वर्ष पदमार्गमा भ्रमण गर्ने पर्यटकमध्ये तीन हजार २८८ पुरुष, दुई हजार ९४ महिला र अन्य दुई जना रहेका छन्। सार्क मुलुकबाट ६०९ र गैरसार्क मुलुकबाट चार हजार ७७५ पर्यटक आएका छन्।

देशगत रूपमा भारतबाट सबैभन्दा बढी ६०६ पर्यटक आएका छन्। त्यसपछि जर्मनीबाट ४३८, इजरायलबाट ४१८, फ्रान्सबाट ३६४ र अमेरिकाबाट ३५२ पर्यटकले पदमार्गको भ्रमण गरेका छन्।लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङसम्म पुग्छ। मनोरम हिमशृङ्खला, प्राकृतिक सौन्दर्य, परम्परागत बस्ती र स्थानीय संस्कृतिका कारण यो पदमार्ग विश्वभरका पदयात्रीमाझ लोकप्रिय गन्तव्यका रूपमा परिचित छ।