|  

प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी मौज्दात

१० कात्तिक, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुवै कोषका विभिन्न खातामा कुल १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ रुपैयाँ मौज्दात रहेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत नौवटा वाणिज्य बैंकमा मात्रै १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा सञ्चालित अमेरिकी डलर खातामा तीन करोड पाँच लाख ३६ हजार १६९ अमेरिकी डलर मौज्दात रहेको छ। भोटेकोशी बाढीपछि विपद् प्रभावितको राहत तथा उद्धारका लागि कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर रहेको जनाइएको छ।