|  

गाभीबाट नेपालले ८ अर्ब ५९ करोडको खोप सहायता पाउने

काठमाडौं । नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट सन् २०३० सम्म राष्ट्रिय नियमित खोप कार्यक्रम सञ्चालनका लागि ८ अर्ब ५९ करोड १९ लाख रुपैयाँभन्दा बढी सहायता प्राप्त गर्ने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको कूटनीतिक पहल र संवादपछि उक्त सहायता सुनिश्चित भएको हो।

यससँगै गाभीले आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको सहायता रकमको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि देखाउँदै नेपालले फिर्ता गर्नुपर्ने भनेको ३ लाख ८ हजार २७१ अमेरिकी डलरसमेत मिनाहा गरेको छ।

सहायता सुनिश्चित हुनु र फिर्ता गर्नुपर्ने रकम मिनाहा हुनुले नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालले नियमित खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित समुदायलाई विभिन्न सङ्क्रामक रोगबाट जोगाउँदै आएको छ। अन्तर्राष्ट्रिय सहयोगले खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।