|  

टाढिएका मतदाता फर्काउन घरदैलो संवाद अभियान चलाऔँः गगन थापा

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऊर्जा र अनुभवको संयोजनसहित जनतामाझ जानुपर्ने बताए ।

थापाले पार्टीको आन्तरिक निर्वाचनपछि सिर्जना हुने मनमुटाव र कटुता अन्त्य हुनुपर्नेमा जोड दिए ।

‘पार्टीभित्रको प्रतिस्पर्धालाई आम चुनावजस्तो जित्नेले सबै जित्यो र हार्ने बाहिरियो भन्ने रूपमा लिनुहुँदैन,’ उनले भने, ‘जित्नेले हस्तिनापुर पाएको र हार्नेचाहिँ सकियो भन्ने सोच गलत हो । पार्टीभित्र त सबैले स्पेस पाउनुपर्छ । प्रतिस्पर्धामा पछि परेका योग्य साथीहरूलाई पनि समेटेर अगाडि बढ्नुपर्छ ।’