|  

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

११ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा आजदेखि बदली हुने र भोलिदेखि वर्षा सुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलिदेखि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। कोशी, बागमती, मधेश र गण्डकीका केही स्थानमा मुसलधारे वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले लामो दूरीको यात्रा तथा पदयात्रा स्थगित गर्न आग्रह गरिएको छ। किसानलाई पाकेको धान सुरक्षित रूपमा भित्र्याउन पनि सुझाव दिइएको छ।

भारतको विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गरेको ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका विभिन्न क्षेत्रमा मौसम प्रतिकूल बन्न सक्ने अनुमान गरिएको छ।