|  

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर

११ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले किर्ते तथा जालसाजीको मुद्दा दायर गरेकी छन् ।

काफ्लेले आफूलाई पदमुक्त गर्न प्रयोग गरिएका पत्र तथा कागजात अनधिकृत रूपमा तयार गरी दुरुपयोग गरिएको दाबी गर्दै मंगलबार जिल्ला अदालत दाङमा मुद्दा दायर गरेकी हुन् । मुद्दामा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगर, प्रवक्ता लोकमणि पाण्डे, प्रदेशसभा सदस्य सन्तोष पाण्डेय र अजयकुमार झालाई विपक्षी बनाइएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा दलको निर्देशन उल्लङ्घन गरेको आरोपमा काफ्लेलाई पदमुक्त गरिएको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा अदालतले असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

काफ्लेले आफूले पार्टी नत्यागेको र राजीनामा पनि नदिएको भन्दै पार्टीको आधिकारिक निर्णय तथा अख्तियारीबिना तयार गरिएको पत्रका आधारमा पदमुक्त गरिएको दाबी गरेकी छन् । उनले दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेकी छन् ।