११ कात्तिक,काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ, व्यवस्थापन, पर्यटनलगायत व्यावसायिक शैक्षिक कार्यक्रमका विद्यार्थीलाई फरक संकाय उल्लेख गरेर ट्रान्सक्रिप्ट दिन थालेपछि विद्यार्थीको शैक्षिक योग्यता र पेसागत भविष्यबारे अन्योल बढेको छ ।
विश्वविद्यालयले यसअघि डेभलपमेन्ट स्टडी एन्ड एप्लाइड साइन्स तथा सामाजिक शास्त्रअन्तर्गत सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमलाई पुनः वर्गीकरण गरी प्रयुक्त बौद्ध अध्ययन संकायअन्तर्गत राखेपछि विवाद उत्पन्न भएको हो । सरोकारवालासँग पर्याप्त छलफल नगरी गरिएको यस्तो निर्णयले विद्यार्थीको करिअरमा असर पर्न सक्ने भन्दै आलोचना भइरहेको छ । विश्वविद्यालयबाट सम्बन्धनप्राप्त लुम्बिनी इन्टरनेसनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी, ललितपुरका नवौं ब्याचका विद्यार्थी नवीन अधिकारीले आफूले अध्ययन गरेको संकायभन्दा फरक संकाय उल्लेख गरेर ट्रान्सक्रिप्ट पाएको बताए । एउटै ब्याचका विद्यार्थीको प्रमाणपत्रमा समेत फरकफरक संकाय उल्लेख हुँदा बढुवा तथा अन्य शैक्षिक प्रक्रियामा समस्या पर्ने हो कि भन्ने चिन्ता बढेको उनको भनाइ छ ।
त्यस्तै, विपद् व्यवस्थापन विषय अध्ययन गरेका प्रनेश श्रीवास्तवले पनि विज्ञान संकायअन्तर्गत अध्ययन गरे पनि एप्लाइड बुद्धिस्ट स्टडिज संकाय उल्लेख भएको ट्रान्सक्रिप्ट पाएको बताए । बढुवा र विद्यावारिधिको प्रक्रियामा रहेका उनले लोकसेवा आयोग तथा विश्वविद्यालयबाट स्पष्ट जवाफ नपाएको गुनासो गरे । विद्यार्थीहरूले भर्ना हुँदा उल्लेख भएको संकायअनुसार नै प्रमाणपत्र उपलब्ध गराउनुपर्ने माग गरेका छन् । संकायको नाम परिवर्तन हुँदा अन्य विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न, प्रमाणपत्रको समकक्षता लिन, सरकारी सेवामा प्रवेश गर्न तथा पेसागत मान्यता प्राप्त गर्न कठिनाइ हुने हो कि भन्ने उनीहरूको चिन्ता छ । क्याम्पसका अध्यक्ष डीआर घिमिरेले प्राविधिक तथा व्यावसायिक विषयलाई बौद्ध अध्ययनसँग सम्बन्धित संकायअन्तर्गत राख्दा त्यसको शैक्षिक औचित्य र कानुनी आधार स्पष्ट हुनुपर्ने बताए । उनका अनुसार संरचनात्मक तथा निर्माण इन्जिनियरिङ, व्यवस्थापन र विपद् जोखिमसम्बन्धी कार्यक्रमको संकायगत पहिचान परिवर्तन गर्नुअघि सम्बन्धित नियामक निकायको मान्यता तथा प्रमाणपत्रको समकक्षताबारे सुनिश्चितता आवश्यक थियो ।
क्याम्पसमा एक सय २० भन्दा बढी विद्यार्थी यस्तै समस्याका कारण अन्योलमा रहेको उनको भनाइ छ । विश्वविद्यालयको स्वायत्तता महत्वपूर्ण भए पनि त्यसले विद्यार्थीको शैक्षिक अधिकार र भविष्यमा जोखिम सिर्जना गर्न नहुने घिमिरेको तर्क छ । गत असार २६ गते शिक्षा मन्त्रालयमा सम्पन्न विश्वविद्यालय सभाको बैठकले विश्वविद्यालयका शैक्षिक कार्यक्रमलाई मूल बौद्ध अध्ययन र प्रयुक्त बौद्ध अध्ययन गरी दुई भागमा वर्गीकरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार इन्जिनियरिङ, व्यवस्थापन, पर्यटन, ग्रामीण विकास, विपद् जोखिम व्यवस्थापन तथा कृषि वनसम्बन्धी कार्यक्रमलाई प्रयुक्त बौद्ध अध्ययन संकायअन्तर्गत राखिएको हो । यस निर्णयको कार्यान्वयन प्रक्रियालाई लिएर विश्वविद्यालयका पदाधिकारीको भूमिकामाथि पनि प्रश्न उठाइएको छ । सरोकारवालाले विशेषगरी इन्जिनियरिङ र व्यवस्थापनजस्ता विषयलाई बौद्ध अध्ययनअन्तर्गत समेट्नुको औचित्यबारे स्पष्ट पार्न माग गरेका छन् । संकाय पुनर्संरचनाको निर्णयले विद्यार्थीको प्रमाणपत्रको मान्यता र भविष्यमा पार्न सक्ने प्रभावबारे पर्याप्त अध्ययन नगरिएको उनीहरूको आरोप छ ।
विश्वविद्यालयका वर्तमान रजिस्ट्रार इन्द्र काफ्लेले भने आफूहरूले विश्वविद्यालय सभाको निर्णय कार्यान्वयन गरेको र ट्रान्सक्रिप्टमा संकाय फरक पर्दैमा विद्यार्थीलाई समस्या नहुने दाबी गरेका छन् । उनले यसलाई प्राविधिक त्रुटि भएको उल्लेख गर्दै आवश्यक परे सच्याउन सकिने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयमा यसअघि पनि केही शैक्षिक उपाधिको मान्यतासम्बन्धी विवाद देखिएको थियो । पर्यटन व्यवस्थापन अध्ययन गरेका विद्यार्थीले मानविकी संकायअन्तर्गत प्रमाणपत्र पाउँदा विदेशका विश्वविद्यालयमा समकक्षता प्राप्त गर्न समस्या भएको विषय उठाएका थिए । त्यस्तै, त्रिभुवन विश्वविद्यालयका एक अध्यापकले विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेपछि बढुवा प्रक्रियामा समस्या भोगेको र पुनः अर्को विद्यावारिधि गर्नुपरेको उदाहरणसमेत सरोकारवालाले प्रस्तुत गरेका छन् । विश्वविद्यालयको संकाय पुनर्संरचनालाई लिएर ऐनको उद्देश्य र शैक्षिक कार्यक्रमको वर्गीकरणबीच सामञ्जस्य नरहेको प्रश्नसमेत उठेको छ । सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ मा अध्यादेशमार्फत संशोधन गरी विश्वविद्यालयका पदाधिकारीको योग्यतामा बौद्ध अध्ययनसम्बन्धी स्नातकोत्तर वा विद्यावारिधि उपाधिलाई प्राथमिकता दिएको थियो । तर, इन्जिनियरिङ र व्यवस्थापनजस्ता विषयलाई प्रयुक्त बौद्ध अध्ययन संकायमा समेटिएपछि उक्त संकायअन्तर्गतका विभिन्न विषयमा उपाधि हासिल गरेका व्यक्तिको पदाधिकारी बन्ने योग्यतासम्बन्धी व्यवस्था कसरी लागू हुन्छ भन्ने प्रश्न उठाइएको छ । विश्वविद्यालय सभाको निर्णयमा शिक्षा मन्त्रालयका उच्च पदाधिकारीको समेत सहभागिता रहेको सरोकारवालाको दाबी छ । उनीहरूले संकाय पुनर्संरचनाको निर्णय, त्यसको कानुनी आधार र विद्यार्थीको प्रमाणपत्रको मान्यताबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् ।
यसैबीच, विश्वविद्यालयका एक पूर्वपदाधिकारीले विगतमा लुम्बिनी, बुटवल र देवदहलाई समेटेर विश्वविद्यालयलाई विस्तार गर्ने तथा देवदहमा चिनियाँसहित हजारौं विदेशी विद्यार्थी अध्ययन गर्न सक्ने शैक्षिक केन्द्र विकास गर्ने योजना रहेको बताए । अहिलेका निर्णयले विगतमा अघि बढाइएका परियोजना र विश्वविद्यालयप्रतिको आकर्षण कमजोर पार्न सक्ने उनको आरोप छ । संकाय वर्गीकरणसम्बन्धी विवाद समाधान गर्न विश्वविद्यालयले प्रमाणपत्रको मान्यता, समकक्षता र विद्यार्थीको पेसागत भविष्यबारे स्पष्ट आधार प्रस्तुत गर्नुपर्ने माग बढेको छ । तत्कालका लागि ट्रान्सक्रिप्टमा देखिएको संकायगत भिन्नता प्राविधिक त्रुटि मात्र हो वा त्यसले दीर्घकालीन शैक्षिक तथा पेसागत प्रभाव पार्छ भन्ने विषयमा विश्वविद्यालयको स्पष्टता विद्यार्थीका लागि महत्वपूर्ण देखिएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar