११ कात्तिक, काठमाडाैं । पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता आनन्द पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । अर्थमन्त्री वाग्लेले नेपालको सार्वभौमिकता र अखण्डतालाई गुमराहमा राख्ने दुष्प्रयास गरेको उहाँको आरोप छ । केही दिन अघि अर्थमन्त्री वाग्लेले भारतमा आयोजित एक सार्वजनिक टेलिभिजन कार्यक्रममा बोल्दै ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै अभिव्यक्ति दिनुभएको थियो । पोखरेलले अर्थमन्त्री वाग्लेको उक्त आत्मसर्पणवादी चिन्तन मुलुकको हितकर हुन नसक्ने टिप्पणी गर्नुभयो । उहाँले अर्थमन्त्री वाग्लेको उक्त धारणाबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा सार्वजनिक गर्न समेत माग गर्नुभयो । नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा अब भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? उहाँको प्रश्न छ । उहाँले सरकार र सत्तारुढ दल रास्वपाले नेपाललाई सिक्किमीकरण गर्न खोजिरहेको आशंका समेत व्यक्त गर्नुभयो । उहाँले अहिले मुलुकको मुख्य समस्या भारत र नेपालबीचको सम्बन्धको नभई नेपालभित्रै रहेका दल र नागरिकबीच राष्ट्रियताको सम्बन्धमा भएको विरोधाभास भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको सार्वभौमिकता र अखण्डतालाई गुमराहमा राख्ने दुष्प्रयास गरेका छन् । भारतमा गएर आत्मसर्पणवादी चिन्तन पेश गरेका छन् । जुन कुनैपनि हालतमा नेपालको हितमा हुन सक्दैन । त्यसकारण म राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियताको सवालमा दृष्टिकोण के हो ? के रास्वपाको पनि स्वर्णिम वाग्लेको जस्तै चिन्तन र दृष्टिकोण हो । र उसले आर्थिक विकासको नाममा के गर्न चाहान्छ ? मुलुकको आर्थिक विकास र सम्पन्नताको नाममा भुटान बनाउने हो ? भुटानको जस्तै सार्वभौमिकतालाई सीमित गर्ने हो, परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा अब भारतको सहमतिमा चल्ने राष्ट्रको रुपमा बनाउने स्यापलाइट राष्ट्र बनाउन चाहेको हो ? के बिस्तारै नेपाललाई सिक्किमीकरण गर्न चाहेको हो ? यसको सुरुवात शुरुमा प्रधानमन्त्री बालेन्द्रजीले नेपालले समेत भारतको सीमा मिचेको छ भनेर गर्नुभएको थियो । यही कुराको निन्तरता अहिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिइरहनुभएको छ । त्यसकारण अहिलेको समस्या भारत र नेपालको होइन । नेपालको राजनीतिक दल र राष्ट्रिय स्वतन्त्र पार्टी र बाँकी नेपाली जनताको बीचको अन्तरविरोध हो । आज राष्ट्रियताको हामी आफैँ विभाजित छौँ । मान्छेको चिन्तन नै विभाजित छ ।’
उहाँले सरकारले राष्ट्रियताका सम्बनधमा आम नागरिकलाई विभाजित गर्न खोजिरहेको आरोप पनि लगाउनु भयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar