|  

हामी आन्दोलनका लागि तयार हुनुपर्छ- ओली

११ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा स्वतन्त्रता र स्वाधीनताको अवस्था कमजोर हुँदै गएको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलन आवश्यक रहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा मनोनीत तीन केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले राज्यले नै स्वतन्त्रताको उपयोग गर्न नसक्ने अवस्था सिर्जना भएको टिप्पणी गरे । उनले देशमा राज्य आतंक र गुण्डाराज चलिरहेको आरोप लगाउँदै सरकार फाँसीवादतर्फ अघि बढेको दाबी गरे । देशलाई थप संकटबाट जोगाउँदै स्वतन्त्रता र स्वाधीनताको अभ्यास गर्न सक्ने अवस्थामा पुर्‍याउन आन्दोलनको विकल्प नरहेको ओलीको भनाइ थियो ।

उनले देशलाई अहिलेको संकटपूर्ण अवस्थाबाट बाहिर निकाल्ने जिम्मेवारी एमालेको काँधमा आएको दाबीसमेत गरे । गत फागुन २१ मा सम्पन्न निर्वाचनलाई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खलाको संज्ञा दिँदै ओलीले एमाले सत्य, न्याय र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तह निर्वाचनमा विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।