|  

कोप-३१ मा हिमाल संरक्षण र जलवायु न्यायका लागि ठोस उपलब्धि खोज्नुपर्छ : पराजुली

१२ कात्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी कोप-३१ सम्मेलनमा नेपालले जलवायु संकटका समस्या सुनाउने मात्र नभई ठोस उपलब्धि हासिल गर्ने रणनीति अपनाउनुपर्ने बताएका छन्।

बिहीबार आयोजित राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै उनले हिमाल संरक्षण, जलवायु न्याय र प्रभावित समुदायका लागि वित्तीय तथा प्राविधिक सहयोग जुटाउने विषयलाई प्रमुख एजेन्डा बनाउनुपर्नेमा जोड दिए। हिमनदी तीव्र रूपमा पग्लिनु नेपालका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै पराजुलीले हिमालको सुरक्षा विश्वकै साझा जिम्मेवारी भएको बताए। भोटेकोशी र त्रिशूलीका विनाशकारी विपद्बाट प्राप्त तथ्यका आधारमा नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष पुनर्निर्माण, पूर्वसूचना प्रणाली र सुरक्षित पूर्वाधार निर्माणका ठोस प्रस्ताव लैजानुपर्ने उनको भनाइ छ।

उनले जलवायु वित्तमा सहज पहुँच, अनुदानमा आधारित सहायता र प्रविधि हस्तान्तरणसँगै अन्तर्राष्ट्रिय सहयोग वास्तविक प्रभावित नागरिकसम्म पुग्ने सुनिश्चितता आवश्यक रहेको बताए। पराजुलीले जलवायु कूटनीतिलाई नेपालको आर्थिक हितसँग समेत जोड्दै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार र पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्ने धारणा राखे। ‘कोप सम्मेलनमा नेपालको उपस्थिति प्रतिबद्धता दोहोर्‍याउने औपचारिकतामा सीमित हुनुहुँदैन, त्यसले प्रभावित नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्छ,’ पराजुलीले भने।