|  

देशभर पश्चिमी वायु र अर्नब चक्रवातको असरः  सातै प्रदेशमा भारी वर्षाको सम्भावना

१३ कात्तिक, कामठाडौं । पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव नेपालमा देखिन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभाग र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर अधिकांश बदली रहनेछ ।

सबै प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा भारी हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ । आज रातिसमेत देशका अधिकांश स्थानमा वर्षा र हिमपात जारी रहने तथा केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।