|  

चक्रवात ‘अर्नब’ को प्रभावः पानी पर्ने क्रम दिउँसोदेखि बढ्ने 

१३ कात्तिक, काठमाडाैं ।  चक्रवात ‘अर्नब’को अवशेष प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बिहीबार रातिदेखि सुरु भएको वर्षा शुक्रबार बिहानसम्म पनि जारी रहेको छ।

मौसमविद्का अनुसार आज दिउँसोदेखि वर्षा थप फैलिनेछ भने राति पूर्वी नेपालका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकामा पनि आज राति दिउँसोको तुलनामा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातभरि भएको वर्षामध्ये काभ्रेको रोशीमा सबैभन्दा बढी ४३ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा १८ देखि २६ मिलिमिटरसम्म पानी परेको छ।

चक्रवात ‘अर्नब’ कमजोर हुँदै न्यूनचापीय प्रणालीमा परिणत भए पनि यसको प्रभाव नेपालमा देखिएको मौसमविद्ले बताएका छन्। पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहे पनि पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।